काठमाडौं। राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ ।मंगलबार बसेको समितिको बैठकले निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो ।
समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिएको हो ।समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो ।
त्यस अवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो ।विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रवलीकरण (रेट्रोफिटिङ) शुरू गरिएको थियो ।दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए ।
समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गर्दा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिएका थिए ।
त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उनले जानकारी दिए । 'चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौं,' उनले भने, 'लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ ।'यादवका अनुसार पुस्तकालयमा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् ।
यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन् । यिनको ‘डिजिटलाईज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरू गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बीसी गरी १२ जनाले विभिन्न जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असार २०८१, १४ : ५८
लेखकबाट थप