भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एसिड आक्रमणमा परेकी कावासोती डण्डाकी वसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न निर्देशन दिनुभएको छ । महानगर प्रमुख दाहालको निर्देशनपछि भरतपुर अस्पताल व्यवस्थापनले भरतपुर अस्पतालमा उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जनाएको छ ।
महानगर प्रमुख दाहालले वसन्तीको उपचारमा चासो दिँदै भन्नुभयो, ‘घाइते वसन्तीको उपचारमा कुनै कमी हुन दिनेछैनौँ ।’ महानगर प्रमुख दाहालले शनिबार भरतपुर अस्पतालमा पुगेर वसन्तीको स्वास्थ्य अवस्थाबारे बुझ्नुभएको थियो ।
महानगर प्रमुख दाहालसँग पीडित वसन्तीका परिवारले आर्थिक अवस्था कमजोर भएको हुनाले उपचारमा सहयोग गरिदिन आग्रह गरेका थिए । परिवारको आग्रहपछि महानगर प्रमुख दाहालले भरतपुर अस्पताललाई वसन्तीको उपचार निःशुल्क रुपमा गरिदिन निर्देशन दिनुभएको थियो ।
बिरामीलाई भेटेपछि प्रमुख दाहालले उच्च मनोबल बनाउन आग्रह गर्नुभएको थियो । उहाँले उपचारमा भइरहेको प्रगततिबारे संलग्न चिकित्सकबाट जानकारी लिनुभएको थियो । प्रमुख दाहालले थप उपचारका लागि अन्यत्र लैजानु पर्ने भए आवश्यक समन्वय गर्न समेत निर्देसन दिनुभयो । एसिड प्रहारजस्तो अमानवीय अपराध गर्नेलाइ हदैसम्मको कारबाही गर्नसमेत उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।
महानगर प्रमुख दाहालसँग प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, अस्पतालका मेसु डा कृष्ण पौडेल, प्रहरी उपरीक्षक सुशीलसिंह राठौर भरतपुर अस्पताल पुग्नुभएको थियो ।
गत सोमबार बजारबाट घर फर्कदै गरेकी वसन्तीलाई कावासोती डण्डा हरमासी टोलमा छिमेकी बिमल श्रीपालीले एसिड खनाएका थिए । श्रीपालीलाई कावासोती प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस