ब्याटिङका लागि पिच निकै च्यालेन्जिङ थियो: रोहित पौडेल

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, १५ : २०
ब्याटिङका लागि पिच निकै च्यालेन्जिङ थियो: रोहित पौडेल

काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपमा नेपालले गरेको प्रदर्शन स्वाभाविक रहेको बताएका छन् ।प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले ठूला प्रतियोगितामा भन्नेबित्तिकै नतिजा नआउने भएकाले त्यसका लागि अझै कुर्नुपर्ने बताए ।

कप्तान पौडेलले अफगानिस्तानको उदाहरण दिँदै उसलाई पनि ठूला टोलीलाई जित्न दशौँ वर्ष लागेको सम्झाए ।‘भन्नेबित्तिकै रिजल्ट आउँदैन । अफगानिस्तान पनि २०१४ देखि 'ग्रो' गरेर आजको अवस्थासम्म आएको हो । अन्तिम १० वर्षमा उसले कति हारेको होला !’ उनले भने ।

आगामी दिनमा नेपालले पनि राम्रो गर्ने विश्वास व्यक्त गर्दै कप्तान पौडेलले त्यसका लागि धैर्यता भने आवश्यक रहेको बताए ।

तीन खेल खेलेको नेपाल सबैमा पराजित भएको थियो । बलिया टेस्ट टोली दक्षिण अफ्रिका र बंगलादेशसँग उत्कृष्ट बलिङ हुनका बाबजुद ब्याटिङ नचल्दा हारेको थियो । दक्षिण अफ्रिकासँग मात्र एक रनले हारेको थियो ।   

यसबारे कप्तान पौडेलले अमेरिका र वेस्ट इन्डिजको पिच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताए ।अन्तिम दुई खेलमा सानो लक्ष्यमा पनि नेपाली टोली हार्नुमा नेपाली खेलाडीको अनुभवको कमी नै प्रमुख कारण रहेको विश्लेषण गरिएको छ । तर पौडेलले भने खेलाडीको अनुभवलाई दोष दिन अस्वीकार गरे । ‘हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले भने ।

नेपालले दक्षिण अफ्रिकासँग ११६ र बंगलादेशसँग १०७ रनको लक्ष्य पाएर पनि जित्न सकेको थिएन । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो । यो खेलमा दुवै टोलीले १–१ अंक बाँडेका थिए । 

प्रतिक्रिया दिनुहोस