आईजिपी परिवर्तन हुँदैन : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, १२ : २५
आईजिपी परिवर्तन हुँदैन : प्रधानमन्त्री प्रचण्ड

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रहरीको महानिर्देशक परिवर्तन गर्ने भन्ने कुरा हल्लाामात्रै भएको टिप्पणी गरेका छन् । आज (सोमबार) भरतपुर विमानस्थलमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो स्पष्ट पारेका हुन् । उनले भने,‘मैले तीनै जना आईजिपीलाई बोलाएर राम्रोसँग र ढुक्कसँग काम गर्न भनेको छु । आईजिपी परिवर्तन गर्ने भन्ने हल्लामात्रै हो ।’

उनले यस वर्षको बजेट समग्रमा राम्रो र सन्तोषजनक रहेको दाबी गरे । नीति तथा कार्यक्रम र बजेट देश र जनताको पक्षमा प्रस्तुत भएको उनको दाबी छ । उनले बजेट पारित हुनेपनि बताए । उनले सरकारले सुशासन र सामाजिक न्यायको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको दाबी गरे ।

उनले अझै कामको गति दिन आवश्यक रहेको सुनाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि साँच्चिकै आलोचना वा विरोध नगरेको स्पष्ट पारे । उनले भने,‘उहाँले आलोचना गरेजस्तोमात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन् ।’

उनले अहिले आफूले उथलपुथल गर्ने बेला नभएको पनि जिकिर गरे । उनले अहिलेको सत्ता गठबन्धन राम्रैसँग लामो समयसम्म जाने विश्वास दिलाए । सत्ता गठबन्धनको बारेमा बाहिर आउने कुरा हल्लामात्रै भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस