नेपालले आज यमनको सामना गर्दै, कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, ११ : ०२
नेपालले आज यमनको सामना गर्दै, कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

काठमाडौं। फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले आज यमनको सामना गर्दैछ । नेपाल र यमनबीचको खेल साउदी अरबमा नेपाली समयानुसार, राति पौने १२ बजे शुरू हुनेछ । आजको खेल नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ)को ऐतिहासिक सयौं खेल हुनेछ ।

डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । आजको खेल खेलेमा उनी नेपालका लागि १०० खेल खेल्ने पहिलो फुटबलर बन्नेछन् ।उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् ।

एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । समूहमा रहेका चारवटै राष्ट्रले पाँच–पाँच खेल खेलिसकेका छन् । पाँचवटै खेलमा विजयी भएको यूएई १५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । १० अंकसहित बहराइन दोस्रो स्थानमा रहेको छ । 

यूएई र बहराइन विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेका छन् । चार अंकसहित यमन तालिकाको तेस्रो स्थानमा छ ।नेपालले भने पाँचवटै गुमाएको थियो । हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस