उपसभामुख रानाको अभिव्यक्तिमा काँग्रेसले उठायो प्रश्न

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १३ : ४७
उपसभामुख रानाको अभिव्यक्तिमा काँग्रेसले उठायो प्रश्न

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमा प्रश्न उठाएकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्री वर्षमान पुनको उपस्थिति हुनुपर्ने माग गरेका थिए ।

अर्थमन्त्री पुन राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गएका थिए । तर रोष्ट्रममा पुगेर लिङ्देनले अर्थमन्त्रीको उपस्थिति विना नबोल्ने अडान लिए ।त्यसबेला सभाध्यक्ष उपसभामुख इन्दिरा रानाले गरिरहेकी थिइन् । लिङ्देनलाई आफ्नो कुरा राख्न आग्रह गर्ने क्रममा रानाले ‘टुक्का भन्दै गर्नु’ भन्ने शब्द प्रयोग गरेकी थिइन् । उक्त शब्द असंसदीय रहेको भन्दै काँग्रेसकी सचेतक थिङले प्रश्न उठाएकी हुन् ।

‘‘राजेन्द्र लिङ्देनज्यूले रोष्ट्रममा उभिएर बजेटको विषयमाथिको छलफलमा अर्थमन्त्री चाहिन्छ भन्दा सभामुखको आशनबाट नै टुक्का भन्दै गर्नु भन्ने आवाज सुनियो । यो संसदीय मर्यादा भयो कि भएन ? यस्तो असंसदीय अभ्यास नदोहोरियोस्’ सचेतक थिङले भनिन् ।

अर्का प्रतिनिधि सभा सदस्य शान्ति परियारलाई ६ मिनेट समय छुट्याएकोमा साढे तीन मिनेटमै रेकर्ड अफ भएको भन्दै उनले यसलाई पनि असंसदीय अभ्यास भनेकी छन् । यी दुइटा घटना असंसदीय अभ्यास रहेको भन्दै सचेतक थिङले प्रश्न उठाएकी हुन् ।

बजेटमाथि बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष लिङ्देनले अर्थमन्त्री पुनलाई नदेखेको भन्दै खोजी गर्दा सभाध्यक्षसँग दोहोरो संवाद जस्तो हुन पुगेको थियो ।

सभाध्यक्ष गरिरहेकी उपसभामुख रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा गएको जानकारी गराइन् । सँगै सरकारका प्रतिनिधिका रूपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको बताइन् ।

तर राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस