नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १० : ५४
नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की

विराटनगर । कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । आह्वानका विरुद्ध रिट दायरका लागि कार्की काठमाडौं पुगिसकेका छन् ।

एउटा सरकार हुँदा हुँदै अर्को सरकार गठनका लागि आह्वान भएपछि सर्वोच्च अदालत जान लागेको मुख्यमन्त्री कार्कीले बताए । ‘प्रदेश प्रमुखबाट घोर असंवैधानिक कदम चल्यो, मुख्यमन्त्री हटाएको पनि छैन, पदमुक्त भएको भनिएको छैन’, उनले भने, ‘दुई वटा प्यारालल सरकार बनाउन पाइन्छ त ?’

संविधान अनुसार आफूले विश्वासको मत लिएको बताउँदै उनले भने, ‘प्रदेश प्रमुखको आह्वान विरुद्ध आजै रिट दायर हुन्छ ।’ उनले सर्वोच्चमा प्रदेश प्रमुखको आह्वान खारेजी र उपधारा ५ अनुसारको सरकार भएकाले आफ्नो नेतृत्वको सरकारको निरन्तरताको माग गर्नेछन् ।

सरकार गठनका लागि आह्वान हुने पूर्वजानकारी पाएका मुख्यमन्त्री कार्कीले केही दिनअघि देखि नै सर्वोच्च अदालत जाने तयारी गरेका थिए । कार्कीले सर्वोच्च अदालत जाने तयारी गरेको थाहा पाएका एमाले दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आजै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरेर नियुक्त गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस