भरतपुर मेयर कप : स्कूल र प्रशिक्षकलाई खेलकुद सामाग्री प्रदान

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, २० : ०५
भरतपुर मेयर कप : स्कूल र प्रशिक्षकलाई खेलकुद सामाग्री प्रदान

भरतपुर । भरतपुर महानगरपालिकामा वैशाख २८ गतेबाट सुरु हुने अन्तरविद्यालय मेयर कप फुटबल लिगमा सहभागि हुने स्कूल र प्रशिक्षकलाई खेलकुद सामाग्री प्रदान गरिएको छ । बुधबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम मार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र मुख्य प्रायोजक संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास ९वाइबी० पौडेलले संयुक्त रुपमा सहभागि स्कूलका प्रतिनिधि र प्रशिक्षकलाई खेलकुद सामाग्री प्रदान गरे ।

सो अवसरमा बोल्दै महानगर प्रमुख रेनु दाहालले दैनिक भइरहेका खेलकुद प्रतियोगिताले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताइन् । उनले स्कूल स्तरबाट राष्ट्रिय खेलाडि उत्पादनका लागि भरतपुर मेयर कप फुटबल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

यस्तै सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गरिरहेको भन्दै महानगरपालिकासंग सहकार्य गर्न पाउँदा थप उत्साहित भएको बताए। उनले स्कुलस्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको बताए । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनको भनाइ थियो ।

महानगगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको सह–आयोजक तथा प्राविधिक सहयोगी संस्थाको रुपमा चितवन जिल्ला फुटबल संघ रहेको छ । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२÷१२ विद्यालय रहेका छन् ।

सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन वैशाख २८ गते भरतपुर–७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा दिउँसो ४ः३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप इङ्ग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी भिड्नेछन् ।

कृष्णपुरसँगै भरतपुर–१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाई थियो ।

यसैबीच सोही कार्यक्रममार्फत् मेयर कप फुटबल प्रतियोगिताको लोगो समेत सार्वजनिक गरिएको छ । लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक समेत नियुक्त गरिएको छ । नियुक्त भएका प्रशिक्षकले आइतबारबाट नै आफ्नो जिम्मेवारी सम्हालेको खेल संयोजक एवम् चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले बताए । नियुक्त भएका प्रशिक्षकलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस