नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दैछ : अध्यक्ष प्रचण्ड

आइतबार, ०७ असोज २०७५, १४ : ५३
नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दैछ : अध्यक्ष प्रचण्ड

चितवन । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाले एकपछि अर्को गर्दै विकासका काममा  ठूलो फड्को मार्दै गएको बताउनुभएको छ । उहाँले नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दै गएको बताउनुभयो । 
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बनेको तरकारी तथा फलफूल बजारको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, ‘भरतपुरमा लगातार भइरहेको विकासले देशभरि नै सकारात्मक सन्देश दिएको छ, विकासको नमुना मोडेल भरतपुरले देखाएको छ ।’ 
‘यहाँ देशकै नमुनाको रुपमा सिटी हलको कुरा अगाडि बढेको छ, रिंगरोड, लिंकरोड, क्रिकेट रंगशाला, बनाउने दिशामा भरतपुर अगाडि बढेको छ’ उहाँले भन्नुभयो, ‘सिटी हल, रिंगरोड, लिंकरोड, क्रिकेट रंगशाला एकसाथ अगाडि बढ्छ ।’
चितवन विकासको काममा अगाडि बढ्ने जमर्को गर्ने जिल्लामा गनिएको उहाँको भनाइ थियो । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमा बनाउने कुरा करिब करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गरेको छु, क्रिकेट रंगशालाको कुरा अगाडि बढ्छ, यो अन्तिम चरणमा पुगेको छ ।’ 

उहाँका अनुसार जलमार्ग र जलाशयको उपयोगको कुरा पनि भइरहेको छ । भैँसालोटनदेखि देवघाटसम्मलाई जलमार्गको रुपमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।  ‘यसका लागि तटबन्धसहित रिंगरोड भइदियो भने उपयुक्त हुन्छ । कार्यक्रममा नेपालको सिंगै समृद्धिको ढोका भरतपुरबाट खुल्ने मैले आशा र विश्वास लिएको छु’ अध्यक्ष दाहालले भन्नुभयो । 
भारत र चीनले पनि चितवन र भरतपुरलाई विशेष रुपमा हेरेको उहाँको भनाइ थियो । ‘म भर्खरै भारत र चीन गएर आएँ, छिमेकी देशहरुले भरतपुर चितवनलाई ध्यानपूर्वक हेरिरहेका मैले पाएँ’ उहाँले भन्नुभयो, ‘भरतपुर र चितवनको विकास कसरी हुन्छ, विकासका मोडेलहरु कसरी अघि बढाइन्छ भनेर छिमेकी देशहरुले ध्यानपूर्वक हेरिरहेका छन् ।’
उहाँका अनुसार हामी राष्ट्रियरुपले नेतृत्व गर्नेहरु यहाँ भएकोले पनि उनीहरुले चितवनलाई ध्यान दिएका होलान् । हामीले नयाँ पुस्तालाई केही दिनु छ ।

‘मैले भरतपुर महानगरको रिंगरोडलाई मोटो रकम हाल्नको लागि अर्थमन्त्रीसँग कुरा गरेको छु । उहाँले भरतपुरको रिंङरोड र लिंकरोडलाई सक्नेजतिको रकम हाल्छु भन्नुभएको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चितवन धार्मिक पर्यटकको प्रचुर सम्भावना भएको जिल्ला हो, यसको लागि पनि स्थानीय सरकारले योजना बनाइरहेको जानकारी पाएको छु ।’
भरतपुरलाई वैज्ञानिक तवरले व्यवस्थित सहर बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुरलाई देशकै नमुना सहरको रुपमा विकास गर्नुछ, भरतपुरले विकासको नमुना मोडेलको सन्देश देशभरि दिनुछ ।’ 
उहाँले भन्नुभयो, ‘हामीकहाँ बिजुली उत्पादनको धेरै सम्भावना छ । प्रसारणको समस्याले गर्दा विदेशी कम्पनीहरु बिजुली उत्पादनका लागि आएका छैनन् । उत्पादन भएको बिजुली बजारसम्म लैजान समस्या भएको  छ’ । 
उहाँले तरकारी बजार बढ्दै गएपछि यहाँको फोहोर व्यवस्थापन राम्रोसँग गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले यहाँको फोहोर लगेर अन्यत्र फाल्ने होइन कि फोहोरको पुनः प्रशोधनबाट फाइदा लिने कुरा सोच्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । 

‘धेरै वर्ष हामीले संघर्ष र राजनीति समस्या समाधानमा बितायौँ । अहिले आफैले बनाएको संविधान छ, हामी आफैले बनाएको सरकार छ । अबको दशक विकासको लागि एकताको दशकमा परिवर्तन गर्नु छ’ अध्यक्ष प्रचण्डको भनाइ थियो । उहाँले वर्तमान सरकार देशको विकासमा लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषिको विकासको लागि जोनहरु व्लकहरु बनाउने काम भइरहेको छ ।’ 
पत्रकारहरुले राष्ट्रिय दायित्व सम्झेर भरतपुर र सिंगो चितवनको विकास निर्माणका कामबारे कलम चलाउन जरुरी रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । 

‘तरकारी तथा फलफूल थोक बजारको राम्रो उन्नति होस् भन्न चाहन्छु । मैले राष्ट्रिय अन्तराष्ट्रिय सबैतिर हुर्नुपर्छ, म चितवनको जनप्रतिनिधि भएको नाताले चितवनको विकासको निम्ति हुनेसम्म गर्छु, तपाइँहरुकै साथमा सैदव हुनेछु ।’


 

प्रतिक्रिया दिनुहोस