नेकपा अध्यक्ष प्रचण्डबाट तरकारी बजारको उद्घाटन

आइतबार, ०७ असोज २०७५, १४ : ३६
नेकपा अध्यक्ष प्रचण्डबाट तरकारी बजारको उद्घाटन

चितवन । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर दुई, क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी थोक बजारको आइतबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ । 
तरकारी बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले किसानले उत्पादन गरेको तरकारी र फलफूलको मुख्य बजार निजी सार्वजनिक साझेदारीको उत्कृष्ट नमूना बनेको बताउनु भयो । उहाँले सरकारको तीनखम्बे अर्थनीतिको मर्म अनुरुप तरकारी तथा फलफूल थोक बजारको निर्माण स्थानीय सरकार भरतपुर महानगरपालिका, निजी क्षेत्र र सहकारीको समेत संलग्नतामा हुनु प्रशंसनीय काम भएको बताउनु भयो ।

यस्तो छ फलफूल तथा तरकारी थोक बजार 
निजी क्षेत्रको लगानीमा निर्माण भएको भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा स्थापना भएको फलफूल तथा तरकारीको थोक बजारमा तीव्र रुपमा चहलपहल बढिरहेको छ । यसअघि नारायणगढको लायन्सचोकमा रहेको तरकारी बजार साँघुरो भएपछि भरतपुर महानगरपालिकाको समन्वयमा व्यवसायीहरुले नै तरकारीको थोक बजार सञ्चालनमा ल्याएका हुन् । 

तीन बिघामा १४ करोड लगानी 
तरकारीको थोक बजार व्यवस्थित, सुविधा सम्पन्न छ । फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले भरतपुर महानगरपालिका २ नारायणगढ क्षेत्रपुरमा रहको फलफूल तथा तरकारी थोक बजार देशकै नमुनाको रुपमा रहेको बताउनुभयो । उहाँका अनुसार १४ करोड लगानीमा थोक बजार निर्माण भएको हो ।  
भरतपुर महानगरपालिकाले लायन्सचोकको फलफूल तथा तरकारी थोक बजार हटाउने भएपछि व्यवसायीले आफ्नै पहलमा नयाँ तरकारी बजार निर्माण गरेका हुन् । व्यवसायीले कृषि प्रवद्र्धन बजार विकास प्रालि कम्पनी गठन गरेर सेयरमार्फत रकम संकलन गरी तीन बिघा जग्गा १६ वर्षको लागि लिजमा लिएर भव्य तरकारीको थोक बजार निर्माण गरिएको अध्यक्ष धितालले जानकारी दिनुभयो । उनले तरकारी बजारभित्र सडक कालोपत्रे बाहेकका सबै काम सकिएको बताए । उनले भने, ‘दसैँपछि कालोपत्रेको काम हुन्छ ।’ 

प्रविधिमैत्री बन्यो बजार 
यो बजारमा तरकारी तथा फलफूलको दररेट राखिएको डिजिटल डिस्प्ले र सूचना पार्टी सबै प्रविधिमैत्री हुनेछ । तरकारी बजारमा दुई रेष्टुरेण्ट, शौचालय, तथा खानेपानी, बिजुलीको समेत व्यवस्था गरिएको छ । यो तरकारीको थोक बजारमा बिचौलियाको चलखेल हुनेछैन । किसानले समेत आफ्नो उत्पादन बजारमा लगेर सिधै उपभोक्तालाई बिक्री गर्न पाउनेछन् । किसानका लागि १४ वटा सटर निःशुल्क उपलब्ध गराइएको अध्यक्ष धितालले बताउनुभयो । 
लायन्सचोकको तरकारी बजारमा जम्मा १६४ वटा सटर रहेको थियो । त्यो बजारको केन्द्रभागमा पनि थियो । नयाँ बनेको तरकारी बजार बजारको केन्द्रभागमा छैन । यहाँ २१७ वटा सटरहरु छन् । व्यवसायिक प्रयोजनका २८, थोकका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ र किसानका लागि १४ वटा व्यवस्थित सटर छन् ।

दैनिक दुई करोडको कारोबार हुने 
२०५० सालदेखि सञ्चालनमा आएको लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको थियो । अहिले बनेको तरकारीको नयाँ थोक बजारमा दैनिक २ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । साँघुरो स्थानमा रहेको लायन्सचोकको थोकबजारमा किसानले कृषिउपज थोरै मात्र ल्याउने गरेका थिए ।
१६ जिल्लाबाट चितवनमा तरकारी आउने गरेको छ । ती तरकारी काठमाडौंसहित, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देहीलगायतका जिल्ला जाने गरिएको छ । 

पुरानो तरकारी बजारमा बहुउद्देश्यीय भवन बनाइने 
लायन्सचोकमा खाली भएको तरकारी बजारमा भरतपुर महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङसहित बहुतले बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । नारायणगढको लायन्सचोकको पुरानो तरकारीको थोक बजारमा बहुउद्देश्यीय भवन बनाउने प्रक्रिया अघि बढाइएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘थोक बजार सरेर पनि उद्घाटन भइसक्यो, अब बहुउद्देश्यीय भवन बनाउने प्रक्रिया अघि 
बढ्नेछ ।’

प्रतिक्रिया दिनुहोस