बुटवल । काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारका तीन जनामध्ये एक जना सभापति बन्ने बताउनुभएको छ ।
महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘कोइराला परिवारको नेपाली काँग्रेसमा ठुलो लगानी छ । त्यसैले अवको महाधिबेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले दावी गर्नु स्वभाविक हो । उहाँको अनुसार कोइराला परिवारका तीन जनामध्ये एकजना सभापति हुने र जनताको मन जित्ने बताउनुभयो ।
कार्यकर्ताको माया र चाहना अनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उहाँको भनाइ थियो । ‘शेखर दा, म र सुजतामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।
हाम्रो परिवारको पार्टीमा धेरै ठुलो लगानी छ । अनि कार्यकर्ताको पनि कोइराला परिवारबाटै सभापति छानियोस् भन्ने चाहाना छ’ महामन्त्री कोइरालाले बताउनुभयो ।
कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने भन्दै उहाँले विधान कम्तीमा आगामी ३० बर्षका लागि हुने प्रष्ट पार्नुभएको थियो । आगामी चार बर्षपछिको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने कोइरालाको भनाइ छ । बर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप कोइरालाको छ ।
‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन’ कोइरालाले भन्नुभयो । काँग्रेसका कारण अहिले नेपालमा २३ विश्वविद्यालय, २० मेडिकल कलेज र ८४ हजार किलोमिटर सडक बनेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस