राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात् गर्नुपर्छ : शेखर कोइराला

सफल खबर संवाददाता

शनिबार, २२ बैशाख २०८१, १६ : २३
राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात् गर्नुपर्छ : शेखर कोइराला

बाँके। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात् गर्न आग्रह गरेका छन् । राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै उनले आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात् गर्नुपर्ने बताए ।

शनिवार कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशमा अप्ठ्यारो परिस्थिति आउँदा कांग्रेस र एमाले एकै विन्दुमा उभिएर समस्या समाधान गरेको उनले स्मरण गरे ।चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले देशको माटो र जनतालाई सम्झेर संवेदनशील एवं जिम्मेवार हुनुपर्ने बताए ।

 

 

निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको उनको भनाइ थियो ।सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने पनि बताए ।​

'हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔं, सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ, तर संसदीय समिति बनाउन सरकार किन डराएको ?', कोइराला प्रश्न गरे ।

फरक प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा विगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए ।पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैसाखीको सहारा लिनुनपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस