एमाले बर्दियाको अध्यक्षमा विष्णु पौडेलनिकट अधिकारीको प्यानल नै विजयी

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, १२ : ५१
एमाले बर्दियाको अध्यक्षमा विष्णु पौडेलनिकट अधिकारीको प्यानल नै विजयी

बुटवल। नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल नै विजयी भएको छ । दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलनिकट अधिकारीको प्यानल विजयी भएको हो ।

अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल, पोलिटब्यूरो सदस्य तथा पूर्वमुख्यमन्त्री एवं जिल्ला इन्चार्ज लिला गिरी तथा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल (आरके)को पनि साथ थियो । श्रेष्ठलाई महासचिव शंकर पोखरेलले साथ दिएका थिए । अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत मात्र ल्याउन सके । त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए । सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नैनबहादुर खत्री १६८ मत मात्र ल्याउन सके। उपसचिवमा लहनु थारू १७८ मतका साथ विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याउन सके । त्यस्तै अर्को उपसचिवमा संगीता थारू १८८ मतका साथ विजयी भइन् । थारूका प्रतिस्पर्धी मन्जु शर्माले १५० मत मात्र ल्याइन् ।

यद्यपि निर्वाचन समितिले परिणाम घोषणा भने गरिसकेको छैन । नयाँ नेतृत्वका लागि बुधबार बिहानै उम्मेदवारी दर्ताको सबै काम भए पनि बुधबार रातभर लगाएर मतदान भएको थियो । बिहान ६ बजे मात्र मतदान सकिएको थियो ।

नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए ।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री, उपसचिव लहनु थारू, मन्जु शर्माले उम्मेदवारी दिएकोमा एकजना उपसचिव लहनु थारू मात्रै विजयी भए । 

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य डा. हरिप्रसाद भण्डारीका अनुसार अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६१ जनाले मतदान गरेका थिए । 

अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने पोलिटब्यूरो सदस्य तथा बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस