काठमाडौँ । प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले समितिको बैठक राख्दा गणपूरक संख्या पुर्याउनै कठिन रहेको गुनासो गरेका छन् ।
प्रतिनिधि सभाको फुल हाउसमा गणपूरक संख्या नपुग्दा त्यसले बहस सिर्जना गर्ने तर, संसदीय समितिको बैठकमा गणपूरक संख्या नपुग्ने समस्या सुनाउँदा कतै सुनुवाइ नहुने उनीहरूको गुनासो छ ।
सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधि सभामा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक र सचेतकहरू तथा संसदीय समिति सभापतिलाई छलफलमा बोलाएका थिए । सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा समिति सभापतिहरूले गणपूरक सङ्ख्याकै कारण समितिको बैठक राख्नमा समस्या हुने गरेको गुनासो गरेका हुन् ।
छलफलमा समितिका सभापतिहरूले प्रगति विवरण सुनाएका थिए । त्यसमा सबैभन्दा बढी बैठक कानून, न्याय तथा मानव अधिकार समितिको बसेको विवरण प्रस्तुत भएको छ । हालसम्म यो समितिको ६३ वटा बैठक बसेको संसदीय अभिलेख छ ।
यही समितिका सभापति बिमला सुवेदीले पनि गणपूरक सङ्ख्याको कारण समस्या हुने गरेको बताइन् । समितिको बैठक बस्नका लागि सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुने प्रावधानका कारणले समेत कतिपय अवस्थामा बैठक ढिलो बस्ने वा बैठक नै स्थगित गर्नु परेको पनि उनले बताइन् ।
प्रतिनिधि सभा नियमावलीको नियम १७८ मा संसदीय समितिको बैठकमा सम्बन्धित विषयको मन्त्रीको उपस्थिति हुनुपर्ने प्रावधान छ ।
‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ । अन्य कार्यसूचीमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्नेछ ।’ नियमावलीको नियम १७८ को उपनियम ४ मा भनिएको छ ।
यो प्रावधानको मनसाय असल रहेको र यस्तो प्रावधानले समितिमा हुने छलफलमा सरकार जानकार हुने र अगाडि बढाउन सहज हुने भएता पनि कतिपय अवस्थामा यही प्रावधानका कारण समिति प्रभावित हुने गरेको सभापति सुवेदीले बताइन् ।
मङ्गलवारको छलफलमा सहभागी प्रतिनिधि सभाका विषगत समितिका अन्य सभापतिहरूले समेत गणपूरक सङ्ख्याका कारण समस्या हुने गरेको भनी सभामुखको ध्यानाकर्षण गरे । एक जना सभापतिले ‘सांसदलाई बैठकमा ल्याउनै धौ पर्ने’ गरेको उल्लेख गर्दै समस्या समाधानको उपाय खोजिनुपर्ने प्रस्ताव राखे ।
संसदीय समितिको बैठक बस्नका लागि समितिमा तत्काल कायम रहेका सदस्य सङ्ख्याको ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यससम्बन्धी व्यवस्था प्रतिनिधि नियमावलीको नियम १८२ मा छ ।
‘‘समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत हुनेछ’ नियमावलीको नियम १८२ को उपनियम ९१० मा छ ।
समितिको बैठकमा गणपूरक संख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्ने वा अर्को समय तोक्नुपर्ने हुन्छ । गणपूरक सङ्ख्या नपुगेर स्थगित भएको बैठक सोही बैठकको निरन्तरताको रूपमा अर्को बैठक बसे त्यस्तो बैठक एक तिहाइ सदस्यको उपस्थितिमा बस्न सक्छ ।
यस्तो बैठक बस्दा सभामुखलाई दिनु पर्ने हुन्छ । तर, यस्तो बैठक राख्दा बैठक भत्ता लगायतका सेवा सुविधाका सन्दर्भमा असर पर्ने भएकाले कम अभ्यास हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा विधेयक र निजामती विधेयकलाई पारित गर्ने कार्यसूची तय गर्न संसद सचिवालयलाई निर्देशन
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्व : सभामुख घिमिरे
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : सभामुख घिमिरे
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै