ओली र प्रचण्डबीच के-के भए कुराकानी ?

बुधबार, १२ पुस २०७४, १४ : ५४
ओली र प्रचण्डबीच  के-के भए कुराकानी ?

एमाले अध्यक्ष केपी शर्मा  ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच   बुधबार दिउँसो  भेटबार्ता भएको छ । ओली निवास  बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको प्रचण्डका  प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

भेटमा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा छलफल भएको थियो । छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा दुई अध्यक्षबीच बीच कुराकानी भएको  तिमल्सिनाले बताए ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको थियो । दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ।
१–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने प्रचण्ड र ओलीबीच समझदारी भएको छ ।

भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको अवस्थामा आजको भेटले  त्यसलाई चिर्ने काम गरेको बुझिएको छ ।

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए ।

दुई दलले पार्टीको साझा दस्तावेज, विधान र संगठनात्मक खाका कोर्न अलगअलग कार्यदल पनि गठन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस