नेपाल र कतारबीच आज के–के हुँदैछन् सम्झौता ?

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, ०७ : ३२
नेपाल र कतारबीच आज के–के हुँदैछन् सम्झौता ?

काठमाडौ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा विभिन्न सम्झौता तथा समझदारीहरु हुने भएका छन् ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र अमिरबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौता तथा समझदारीपत्रहरु आदान प्रदान हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाटै भइसकेको छ ।  

यस्तै  नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बिच समाचार आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

यस्तै कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारमा हाल झन्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । 

नेपाल र कतारबीच विगतमा विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरु भएका छन् । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौँमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो । 

यद्यपि हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन । दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवासम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो । त्यस्तै दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो ।