५ वर्षमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार

रासस

आइतबार, ०९ बैशाख २०८१, १४ : २४
५ वर्षमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार

काठमाडौं । नेपाल सरकारले ५ वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निशुल्क उद्धार गरी उपचारको व्यवस्था मिलाएको महिला उत्थान समन्वय इकाईकी प्रमुख नीति शर्माले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७५/०७६ बाट यो कार्यक्रम लागू गरिएको थियो । चालु आर्थिक वर्षमा मात्रै १ सय २६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको शर्माले बताइन् । उनका अनुसार दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसलाई आधारमा इकाईले उद्धार गर्दै आएको छ ।

‘कुनैपनि जटिल केसहरु देखियो, भनेजस्तो त्यहाँ उपचार हुन नसक्ने जनशक्तिको कारण, उपकरणको कारण अथवा त्यहाँबाट जिल्ला अस्पताल लैजाने अवस्था पनि सडक यातायातको कारण गाह्रो छ भने त्यहाँबाट उहाँहरुले रिफर गर्नुहुन्छ’, शर्माले भनिन् ।

सो कार्यक्रम हालसम्म ४८ वटा जिल्लामा लागू गरिएको छ । १९ वटा जिल्लामा पूर्ण र २६ वटा जिल्लामा आंशिक गरी ४८ वटा जिल्लाको सो कार्यक्रम लागू गरिएको पनि इकाई प्रमुख शर्माले बताइन् ।

सरकारले सो कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धि कार्यविधि–२०७७ अनुसार सञ्चालन गरिरहेको छ । इकाईले पीडितलाई तत्काल उद्धार गर्नका लागि ९८५१२५५२५४ को निशुल्क हटलाइन सेवा पनि उपलब्ध गराएको छ ।

सेवा लिएकाहरुलाई सरकारले यातायात खर्चवापत प्रतिव्यक्ति २० हजार रुपैयाँ पनि उपलब्ध गराउने गर्दछ । सेवाग्राहीलाई राहतका लागि सो रकम पनि उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि राष्ट्रपति महिला उत्थान समन्वय इकाईले जनाएको छ ।