सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती, १०१ किलोमिटरमा अनुगमन गरिने

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, १३ : २३
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती, १०१ किलोमिटरमा अनुगमन गरिने

कैलाली। कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती शुरू गरेको छ ।सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिवारदेखि आठ दिनसम्म सीमा पैदल गस्ती शुरू गरेको हो ।​

त्रिनगर भन्सार सीमास्तम्भबाट शुरू भएको गस्ती जिल्लाको पूर्वी सीमास्तम्भ पुगेर समापन गरिने जनाइएको छ ।सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमको कमान्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्ने सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बताए ।

 

उनले त्रिनगरस्थित सीमास्तम्भ ७५२/६ रहेको स्थानबाट पैदल गस्ती शुरू भएर सीमास्तम्भ श्रीलङ्कास्थित नम्बर ७०० मा पुगेर समापन गरिने बताए ।भारतसँग जोडिएको एक सय एक (१०१) किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्ने उनको भनाइ छ ।

पैदल गस्तीमा  सीमास्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिने जनाइएको छ । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार यसअघि कञ्चनपुरको सीमा क्षेत्रमा समेत पैदल गस्ती गरिएको जनाइएको छ ।

सो क्रममा सीमास्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिने भएको छ ।

सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा शुरू भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि, राजनीति दलका नेता, स्थानीय र भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।

तस्करी नियन्त्रण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको निगरानी र नियन्त्रण गर्न पैदल गस्तीले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।प्रहरी उपरीक्षक पाण्डेले आठ दिनसम्म गस्ती टोलीले दिन र रातिको समयमा समेत पैदल गस्ती गरेर सीमा क्षेत्रको निरीक्षण गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस