शिक्षामन्त्री श्रेष्ठद्वारा गेटामा विश्वविद्यालयको भवन अवलोकन

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, ११ : २६
शिक्षामन्त्री श्रेष्ठद्वारा गेटामा विश्वविद्यालयको भवन अवलोकन

धनगढी । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कैलालीको गेटामा विश्वविद्यालय बनाउन निर्माण गरिएको भौतिक संरचनाहरुको स्थलगत अवलोकन गरेकी छिन् । मन्त्री श्रेष्ठले आज बिहान निर्माण गर्ने भनिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको पछिल्लो अवस्थाबारे बुझ्न अवलोकन गरेकी हुन् ।

गेटामा सरकारले २०७९ माघ २९ गते विश्वविद्यालय बनाउने घोषणा गरिसकेको छ । तर, त्यसको २ वर्ष अघि नै करोडौँ लगानी गरेर निर्माण भइसकेका भवन भने हाल सम्म पनि प्रयोगविहीन छन् ।

यस बिचमा वर्तमान प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूले पटक–पटक अवलोकन गर्ने क्रम भने जारी रहेको छ । आइतबार गेटामा पुगेकी मन्त्री श्रेष्ठले गेटामा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना बनाएर अगाडि बढ्ने बताइन् ।

उनले मेडिकल कलेज सञ्चालनका लागि ३ सय शय्याको अस्पताल सञ्चालन गरेर ६० प्रतिशत अक्युपेन्सी आवश्यक पर्ने भएकाले त्यसका विषयमा के गर्ने भन्ने योजना बनाउनु पर्ने बताइन् ।हाल गेटामा १ सय शय्याको अस्पताल मात्रै सञ्चालनमा रहेको छ । जसले ओपिडी सेवा मात्रै दिँदै आएको छ ।

अवलोकनमा आएकी मन्त्री श्रेष्ठलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले तत्काल विश्वविद्यालय सञ्चालनको माग गर्दै ज्ञापन पत्र समेत बुझाएको थियो । 

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सङ्घीय संसद्को आगामी अधिवेशनमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सम्बन्धी विधेयक पास गरी यथाशीघ्र ६ सय शय्याको अस्पताल सञ्चालन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस