विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, १४ : १४
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन

काठमाडौँ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन आज स्वदेश फर्किने भएका छन् । मन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकका लागि यही वैशाख ३ गते अमेरिका प्रस्थान गरेका थिए ।

५ दिन अमेरिका भ्रमण सकेर मन्त्री पुन आज दिउँसो साढे ४ बजे नेपाल आइपुग्ने सचिवालयले जनाएको छ । अमेरिका भ्रमणका क्रममा मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागिता जनाएका थिए ।

यसबाहेक अर्थमन्त्रीले अमेरिकी व्यवसायीसँग समेत अर्थपूर्ण भेट गरेका थिए । अमेरिका भ्रमणका क्रममा पुनले अमेरिकी व्यवसायीसँग नेपालमा लगानीका लागि आग्रह गरेका थिए । त्यसक्रममा अमेरिकी व्यवसायीले नेपालको कर प्रणालीको विषयमा चासो व्यक्त गरेका थिए ।

यसबाहेक अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओसँग भेटेका छन् ।

यस्तै विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग समेत अर्थमन्त्री पुनले भेटघाट गरे ।

भेटघाटका क्रममा पुनले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीको आह्वान गरेका थिए । उनले नेपाल दक्षिण एसियामा नै वैकल्पिक ऊर्जा उत्पादनको केन्द्र बनेकाले विश्वका लगानीकर्ता यतातर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस