एसीसी प्रिमियर कप

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, १३ : ४०
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौं । नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।

सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि नेपाली ब्याटरले सम्झन लायक प्रदर्शन गरेनन् । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

नेपालको सुरुवात नै सम्झन लायक थिएन । तीव्र गतिका बलर जुनैद सिद्दिकीको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे । कुशललाई पहिलो बलमै गुमाएपछि अन्य नेपाली ब्याटर खुलेर खेल्न सकेनन् ।

तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख एलबीडब्लू आउट हुन पुगे । आसिफ आउट हुँदा नेपाल ३.३ ओभरमा ११/२ को अवस्थामा पुगेको थियो ।

कप्तान रोहित पौडेल १८ बलमा ५ रनमा क्याच आउट भए । अली नासिरको बाउन्सर बलमा उनी विकेट किपरबाट क्याच आउट भएका थिए ।कुशल मल्ललाई बासिल हामिदले बोल्ड गरेपछि नेपाल ९.१ ओभरमा ५०/४ को अवस्थामा पुगेको थियो ।

त्यसपछि सन्दीप जोरा र दीपेन्द्रले छैटौं विकेटका लागि २५ रनको साझेदारी गरेका थिए । दीपेन्द्र १४ औं ओभरको दोस्रो बलमा आयन खानको बलमा एलबीडब्लु आउट भएपछि नेपालको ठूलो योगफलको आशा पनि सकिएको थियो ।

तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ रन बनाए । गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए । युएईका जुनैद सिद्दिकी, बासिल हामिद र अली नासिरले २/२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस