लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा ७ प्रतिस्पर्धी, छनोट गर्न २ समिति गठन

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १६ : २३
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा ७ प्रतिस्पर्धी, छनोट गर्न २ समिति गठन

बुटवल। लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । २०८० चैत १ गतेबाट रिक्त पदमा खुला प्रतिस्पर्धाबाट छनोट गर्न दरखास्त आह्वान गरिएको थियो । पेस भएका ९ वटा आवेदनमध्ये ७ वटाको अन्तिम मूल्याङ्कन हुने विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ ।

कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति गर्दा खुला प्रतिस्पर्धाबाट गर्ने बताउँदै आएका छन् ।अन्य विश्वविद्यालयमा पनि खुला रुपमा दरखास्त आह्वान गरी पदाधिकारी नियुक्तिको अभ्यास थालिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले पनि सोही प्रक्रिया पछ्याउँदै रजिस्ट्रार सिफारिसका लागि खुला रुपमा दरखास्त आह्वान गरेका थिए । विश्वविद्यालय ऐनले रजिस्ट्रार सिफारिस गर्ने एकल अधिकार उपकुलपतिलाई दिएको छ ।​

रजिस्ट्रार छनोटको मापदण्ड निर्माण तथा दरखास्त आह्वानका लागि उपकुलपति बज्राचार्यको नेतृत्वमा मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. हरिशरण चखुँ र अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।समितिले मापदण्ड पुगेका ७ जनाको नाम मूल्याङ्कनका लागि छनोट गरेको छ ।

दरखास्तका लागि प्रकाशित सूचनामा रजिस्ट्रार पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण, पाँच वर्ष प्राज्ञिक संस्थाको नेतृत्व गरेको अनुभव र सहप्राध्यापक वा सोभन्दा माथिको पदीय हैसियतलाई न्यूनतम मापदण्ड तथा बौद्ध अध्ययन गरेकालाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।

कार्यअनुभवमा क्याम्पस प्रमुख, केन्द्रीय विभाग प्रमुख, सहायक डीन, डीन वा सोभन्दा माथिल्लो पदमा विभिन्न समयमा गरी कम्तीमा ५ वर्ष कार्य गरेकाले आवेदन दिन सक्ने व्यवस्था राखिएको उपकुलपति कार्यालयले जनाएको छ । दरखास्तसहित उम्मेदवारहरूले विश्वविद्यालयको कार्ययोजना र दीर्घकालीन योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

उपकुलपति बज्राचार्यले पहिलो चरणको दरखास्तको मूल्यांकनबाट ७ जनाको नाम छनोट भएको जानकारी दिए ।उनीहरूको प्रस्तुतीकरण, योजनाको मूल्यांकन तथा अन्तर्वार्ताका लागि शिक्षा क्षेत्रमा ख्याति प्राप्त विज्ञहरू सम्मिलित तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ । सो समितिले आवेदनको अन्तिम मूल्यांकन गरी प्राप्ताङ्क उपकुलपतिलाई प्रदान गर्नेछ ।​​

रजिस्ट्रारका लागि दरखास्त दिएकामध्ये बर्दघाट नवलपरासीका डा घनश्याम न्यौपाने, तनहुँका प्राडा काजिराम अधिकारी, ललितपुरका डा गणेशप्रसाद घिमिरे, अर्घाखाँचीका प्राडा लालमणि पाण्डे, इलामका प्राडा नरेन्द्र कटुवाल, चितवनका इन्द्रप्रसाद काफ्ले र अर्घाखाँचीका डा तिलकराम आचार्यको आवेदन स्वीकृत भएको छ ।

काठमाडौंका डा गजेन्द्रबहादुर सिंह र कपिलवस्तुका मेघराज आचार्यको आवेदन भने मापदण्डभित्र नपरेको उपकुलपति कार्यालयले जनाएको छ ।उम्मेदवारहरूको २०८१ वैशाख ८ गते अन्तिम मूल्यांकनका लागि प्रस्तुतीकरण हुने उपकुलपति बज्राचार्यले जानकारी दिए ।मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने उम्मेदवारलाई रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस