लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, ११ : ३५
लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट (सूचीसहित)

काठमाडौँ । लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाको नाम टुङ्ग्याएको छ । बोर्डले दुई दिने लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट गरेको हो । यससँगै लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाको छनौट टुङ्गिएको प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

लगानी बोर्डले लगानी सम्मेलनलाई मध्यनजर गरेर गठन गरेको प्राविधिक कमिटीले परियोजना छनौटको काम टुङ्ग्याएको हो । सम्मेलनमा प्रस्तुत गरिने परियोजनालाई ८ चरणमा वर्गीकरण गरिएको छ । यसअघि प्रारम्भिक चरणमा बोर्डको कार्यालयले १२५ परियोजना छानेको थियो ।

त्यो सूचीलाई थप परिमार्जन गर्दै १४८ वटा परियोजना छनौट भएको प्रवक्ता उपाध्यायले बताए । ‘सम्मेलनमा स्वदेशी–विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गर्ने परियोजना टुङ्गो लागेको छ,’ उपाध्यायले भने । सम्मेलनमा २० वटा परियोजना निर्माणका लागि आशय पत्र आह्वान गरिने छ ।

लगानी बोर्डको परिधिमा पर्ने र सम्बन्धित मन्त्रालयको मातहतबाट प्रस्तुत गरिने गरी कूल २० वटा परियोजनामा आशय पत्र माग गरिने छ । आशय पत्र माग हुने परियोजनाहरूको सूचीमा जलविद्युत सबैभन्दा धेरै छन् । यस्तै पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रदेखि धौवादी फलाम खानीसम्ममा आशय पत्र आह्वान गरिनेछ।

यस्तै निर्माणको चर्चा चलेका परियोजनाको सूची ७ वटा तयार पारिएको छ । पहिचानको चरणमा रहेका परियोजनाको सूचीमा ३१ वटा छन् । वित्तीय व्यवस्थापनको चरणमा रहेका परियोजनाको सूची १८ छ । यसबाहेक निजी क्षेत्रले पहिचान गरेको परियोजनाको सूची ३१ रहेको बोर्डको कार्यालयले जनाएको छ ।

यस्तै २७ वटा परियोजना समेत अघि बढाउने स्वीकृति लिँदै सम्मेलनमा प्रस्तुत गर्ने निर्णय भएको छ । यस्तै निजी लगानीको खोजीमा सम्मेलनमा १४ वटा परियोजना तयार पारिएको छ ।