इराकमा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै राजेशपायल

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, ११ : १७
इराकमा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै राजेशपायल

काठमाडौँ । केही अगाडि पत्नी सङबुङ राईसँग डिभोर्सको कारणले चर्चामा छाएका गायक राजेश पायल राईले इराकमा प्रस्तुति दिने भएका छन् । विश्वका प्राय: देशमा सांगीतिक कार्यक्रम गरिसकेका राई इराकमा भने पहिलोपटक गुञ्जन लागेका हुन् ।

इराकमा पहिलोपटक प्रस्तुत हुन पाउँदा निकै खुसी लागेको राईले बताए ।  शुक्रबार इराकको कुर्दिस्तानमा आयोजित कार्यक्रमका लागि राई इराक पुगिसकेका छन् ।कुर्दिस्तान त्यो स्थान हो जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेको थियो ।

१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरूकै अनुरोधमा साङ्गीतिक प्रस्तुति दिन राई त्यहाँ पुगेका हुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए ।

राजेशपायल बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त रहने कलाकार हुन् । अमेरिकामा १७ औँ पटक कार्यक्रम गरिसकेँ उनले इराक कार्यक्रममा अविस्मरणीय तुल्याउन कुनै कसर नछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस