ग्लोबल आईएमई बैंकले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १० : ४८
ग्लोबल आईएमई बैंकले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई सहजरूपमा शैक्षिक कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रालिका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकले हब इन्टरनेशनल एजुकेशन प्रालिले सिफारिस गरेका विद्यार्थीहरूलाई भारतका विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ ।

हब इन्टरनेशनल एजुकेशनमार्फत् सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् छिटो, सरल तथा सहज रूपमा यो कर्जा प्रवाह गरिनेछ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस