ग्लोबल आईएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनामा लगानी सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, १५ : ३९
ग्लोबल आईएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनामा लगानी सम्झौता

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाइ र लक्ष्मी सन्‌राइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आईएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सन्‌राइज बैंकका चिफ बिजनेस अफिसर मनीषराज कुँवर र सौर्य होल्डिङ प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।​ 

 

 

 

 

 

 

 

 

 

ताप्लेजुङको माथिल्लो मेवा खोलामा निर्माण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत् आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।

यो आयोजना निर्माण शुरू भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने छ । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस