नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण टस हुन सकेन

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १२ : ५७
नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण टस हुन सकेन

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन । ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । गतराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो भने कतारसँग १५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस