सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउने, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १६ : ५२
सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउने, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

काठमाडौं। पहिलो कार्यकालको मुख्यमन्त्री पाउने सहमति भएपछि नेकपा (एकीकृत समाजवादी)ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको रेशम चौधरी पक्षका उम्मेदवार लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन भन्दै नेकपा एसले प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर बुझाएको थियो ।

नेकपा एसलाई मुख्यमन्त्री दिने समझदारी भएपछि समर्थन फिर्ता लिइएको नेकपा एसका एक सांसदले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका नेता झलनाथ खनालबीच मंगलवार बिहान भएको छलफलमा सुदूरपश्चिमको मुख्यमन्त्री उसलाई दिनेबारे सहमति भएको थियो ।

केन्द्रमा सहमति भएलगत्तै नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता गरेका हुन् । नेकपा एसबाट सोडारी नै मुख्यमन्त्री बन्ने सम्भावना छ । यसअघि नयाँ सत्ता गठबन्धनबाट नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भएको थियो ।

नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । नेकपा एस बिच्किएर कांग्रेस समर्थित उम्मेदवारलाई मुख्यमन्त्री बनाउन लागेपछि प्रचण्डले सहमतिका लागि अग्रसरता लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन अप्ठ्यारोमा पर्न लागेको भन्दै पहिलो कार्यकालको मुख्यमन्त्री नेकपा एसलाई दिन नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सहमत गराएका छन् । ‘प्रधानमन्त्रीज्यूले गठबन्धन अफ्ठेरोमा पर्ने भयो अर्को कार्यकालको मुख्यमन्त्री लिन आग्रह गर्नुभएपछि हामी पछि हट्ने सहमति भयो,’ नाउपाका एक नेताले भने । 

नयाँ सहमतिअनुसार एमाले, माओवादी र नाउपाको समर्थनमा नेकपा एसका नेता सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । पूर्वसहमतिविपरीत मुख्यमन्त्री नदिइएको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका थिए । 

प्रतिक्रिया दिनुहोस