सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रधानमन्त्री प्रचण्डलाई खनालको आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, ११ : १७
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रधानमन्त्री प्रचण्डलाई खनालको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा देखिएको असमझदारी र सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा एकीकृत समाजवादी सामेलबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत सहभागी थिइन् । तीन नेताबिच एक घण्टा बढी समय छलफल भएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेससँगको सहकार्यमा उभिने निर्णय गरेपछि सत्ता साझेदार दलमा हलचल पैदा भएको छ ।

‘हालका सत्ता साझेदार दलबिचको सहकार्य र सुदूरपश्चिम घटनाक्रमबारे छलफल भयो’, प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि नेता खनालले भने, ‘समीकरणमा जुन समस्याहरू देखा परेका छन् । समीकरणको एकतालाई समझदारीयुक्त बनाउनुपर्ने, सबैको सम्मान र समानतालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ, सवैका हितलाई प्रतिविम्ब गर्ने गरी अघि बढ्नुपर्छ ।

बालुवाटारमा भएको छलफलबारे खनालले भने, ‘अन्यथा गठबन्धन भित्रैपनि दक्षिणपन्थीहरुले खेलेर यो गठबन्धन फुटाइदिन्छन् भन्ने कुरा भयो ।’ पछिल्लो समस्याले गठबन्धनभित्र पनि अनेक खालका स्वार्थ र प्रवृत्ति रहेकोमा नेताहरूबिच सचेत हुनुपर्नेबारे छलफल भएको खनालले बताए । 

‘यहाँभित्र दम्भ र घमन्डका प्रवृत्ति पनि छन् । ती समस्या समाधान गर्न सकिएन भने गठबन्धन टिक्न गाह्रो हुन्छ’, खनालको भनाइ छ । भेटमा नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन पहल गर्न आग्रह गरेका थिए । उनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने पहिलाको सहमति कार्यान्वयन गर्नु नै समस्याको समाधान हुने बताएका थिए । 

‘मेरो आग्रहमा प्रधानमन्त्री र नाउपा अध्यक्ष श्रेष्ठ सकारात्मक हुनुहुन्छ’, खनालले भने, ‘दिउँसो १ बजेअघि नै त्यसबारे निर्णय गर्नुस् भनेको छु ।’एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन् । 

सुदूरपश्चिममा बैशाख २ सम्म मुख्यमन्त्रीको दाबी पेस गर्न त्यहाँका प्रदेश प्रमुखले समय दिएका थिए । त्यसपछि नाउपाका दुई सांसदले फरक फरक समीकरणमार्फत मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सत्ता गठबन्धनबाट कैलाश चौधरी र कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्री दाबी गरेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भइरहेको छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनका कैलाशलाई समर्थन नगरेर लक्ष्मण किशोरलाई समर्थन गरेपछि गठबन्धनको भविष्यबारे प्रश्न उठ्नुका साथै मुख्यमन्त्री नियुक्त सकसको विषय भैहरहेको छ। आज बेलुकासम्म प्रदेश प्रमुखले उचित निर्णय लिने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस