पुलिसले जित्यो जीतपुरसिमरा गोल्डकपको उपाधि

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, ०९ : १५
पुलिसले जित्यो जीतपुरसिमरा गोल्डकपको उपाधि

काठमाडौ । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । सोमबार राति सिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो । प्रशिक्षक चेतन घिमिरेले टाइव्रेकरलाई लक्षित गरि अतिरिक्त समयको अन्तीममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बने । अमितले मच्छिन्द्रका दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सपल भयो । 

मच्छिन्द्रका लागि विशाल तामाङ्ग, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले सेभ गरेका थिए । पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे । 

यसअघि भएको प्रतिष्पर्धात्मक खेलमा दुबै टिमले निकै आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेको थिएन । मच्छिन्द्र निर्धारित समयको अन्त्य तिर ९ खेलाडीमा सिमीत बनेको थियो । उत्सव राई ८४ औं मिनटमा रातोे कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए भने खेलको ८८ औं मिनटमा मनिष डाँगी दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरीए । ९ खेलाडीमा सिमीत भएपनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो । 

पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे । पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । उनले २५ हजार नगद सहित ट्रफि प्राप्त गरे । पुलिसका उज्ववल राई र बीरगञ्ज युनाईटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बने । उनीहरुले २५ हजार नगद सहित ट्रफि प्राप्त गरे । 

आयोजक नवजनजागृति युवा क्लब सिमराका प्रज्वल थापामगरले इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्टको ट्रफि सहित १५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्लेको ट्रफि आयोजक टिमलेनै प्राप्त ग¥यो ।

मच्छिन्द्रका बिमल घर्तिमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले टिभीएस स्कुटर प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस