काठमाडौं । नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग सोमबार वारपार छिचोलिएको छ । मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छिचोलिएको थियो ।
मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए ।यो सुरुङमार्ग छिचोल्ने दिन सोमबार सुरुङभित्रै विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका छन् ।
सुरुङ प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ । करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ । मुख्य सुरुङ मार्ग छेडिन अब २ मिटर मात्रै बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।
यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १४ : १९
लेखकबाट थप