बर्नमाउथसँगको हारबाट जोगियो युनाइटेड

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, ११ : २०
बर्नमाउथसँगको हारबाट जोगियो युनाइटेड

काठमाडौं। इंग्लिस प्रिमियर लिग फूटबलमा म्यानचेस्टर युनाइटेड तुलनात्मक सानो टोली एफ सी बर्नमाउथसँगको हारबाट जोगिएको छ । युनाइटेडले एक गोललले पछि परेको अवस्था उल्टाएर बर्नमाउथसँग २–२ गोलको पुनरागमन बराबरी गर्दै हार टारेको हो । यससँगै युनाइटेडले लिगमा तालिकामा एक अंक थपेको छ ।

शनिवार राति बर्नमाउथले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता लिएको थियो । उसका डोमोनिक सोलांकेले मार्कोस सेन्सीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए ।

तर ३६ औं मिनेटमा जस्टिन कुलभर्टले गोल गरेपछि बर्नमाउथले फेरि २–१ को अग्रता बनाएको थियो ।एक गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गरेको हो ।

६५ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टोलीले एक–एक अंक जोडेका छन् ।युनाइटेड ३२ खेलबाट ५० अंकका साथ तालिकाको सातौं स्थानमा रहँदा बर्नमाउथ समान खेलबाट ४२ अंकका साथ १२ औं स्थानमा छ । जारी सिजनमा म्यानचेस्टर सिटी ७३ अंकका साथ शीर्ष स्थानमा छ ।

यस्तै आर्सनल र लिभरपुल एक खेल कम खेल्दै समान ७१ अंकका साथ तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।प्रिमियर लिगअन्तर्गत आइतवार तीनवटा खेल हुनेछन् । नेपाली समयअनुसार पौने ७ बजे लिभरपुल र क्रिष्टल प्यालेस तथा वेस्टह्याम र फुलह्यामबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, सवा ९ बजे आर्सनल र एस्टन भिल्ला भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस