कांग्रेस बैठक : संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा, सरकारलाई चेतावनी

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, ११ : १४
कांग्रेस बैठक : संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा, सरकारलाई चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई संसदीय मूल्य मान्यताविरुद्ध काम नगर्न सरकारलाई चेतावनी दिएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा गर्दै यस्तो निर्णय गरेको हो ।

दलको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्याशित रूपमा अन्त्य गर्ने निर्णय घोर निन्दा भएको बताए ।‘संसद्को अधिवेशन अन्त्य गर्ने निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ,’ उनले भने ।

लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले २ दिन मात्रै संसद् अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए । उनले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसद्का कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ ।’

सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको लेखकले बताए । कांग्रेसले सहकारी ठगीमा एक महिनादेखि सदनमा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै आएको थियो । आगामी अधिवेशनमा पनि कांग्रेसले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगीको विषय निरन्तर उठाउने लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस