वैशाख दोस्रो सातादेखि हुने भयो भोजपुर गोल्डकप, ४९ लाख २५ हजार लागत अनुमान

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १६ : १५
वैशाख दोस्रो सातादेखि हुने भयो भोजपुर गोल्डकप, ४९ लाख २५ हजार लागत अनुमान

काठमाडौं। सातौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ ।

गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ आठ टोलीको सहभागिता रहने छ ।

 

प्रतियोगिता सञ्चालनका लागि रु ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किराँत बान्तावाले बताए ।जसमा भोजपुर नगरपालिकाले विनियोजन गरेको रु ३० लाख र बाँकी रकम प्रायोजकहरूबाट सङ्कलन गरिने उनको भनाइ छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने आयोजकले जनाएको छ ।व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस