जर्मनीमा आपराधिक गतिविधि बढे, सन् २०१६ यताकै उच्च

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १६ : ०८
जर्मनीमा आपराधिक गतिविधि बढे, सन् २०१६ यताकै उच्च

काठमाडौं। बर्लिनजर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् ।

सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा अपराधमा वार्षिक ५।५ प्रतिशतले वृद्धि भएको र सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको जनाएको छ ।

उक्त प्रतिवेदनमा दुई लाख १४ हजारभन्दा बढी अर्थात् ८.६ प्रतिशतले हिंसात्मक अपराधहरू बढेका देखिएको छ ।सरकारले कानूनी रूपमा नै हिंसाविरुद्ध कडा कदम चाल्ने र यहाँ हिंसामा शून्य सहनशीलता लागू गराउने प्रयास भइरहेको सङ्घीय गृहमन्त्री न्यान्सी फेसरले बताए ।

उनले विशेष गरी आपराधिक गतिविधिमा बालबालिका, किशोरकिशोरी र विदेशीको सङ्ख्यामा तीव्र वृद्धि भएको उल्लेख गरे । प्रतिवेदनले यो तथ्याङ्क क्रमश १२ प्रतिशत, ९।५ प्रतिशत र १३।५ प्रतिशतले बढेको देखाएको छ ।

हिंसा नियन्त्रणका लागि बनाइएका कडा नियमहरू लागू गरिनुपर्ने र देशमा रहेका विदेशी अपराधीले छिट्टै जर्मनीबाट फिर्ता हुनेमा गृहमन्त्री फेसरले जोड दिए । सन् २०२२ मा ‘अत्यधिक आप्रवासी तथ्याङ्क’ प्रकाशित गरेपछि सरकारले अवैध प्रवेश रोक्न कडा सीमा नियन्त्रण उपायहरू लागू गरेको छ । 

गत महिना रुसमा १४० जनाभन्दा बढीको ज्यान गएको आतङ्कवादी हमलालाई उद्धृत गर्दै ‘युरोपियन च्याम्पियनसिप–२०२४’ को समयमा सीमा नियन्त्रणहरू अझ कडा बनाइने उनले बताए । 

आतङ्कवादको खतरा तथा हालका वर्षहरूमा अन्य अपराधहरूमा पनि वृद्धि भएको छ । ‘फ्राइडरिच एबर्ट फाउन्डेसन’ द्वारा प्रकाशित सर्वेक्षणअनुसार विशेष गरी दक्षिणपन्थी विचारहरू व्यापक हुँदै गइरहेका र आठ प्रतिशत मानिसहरूले त्यस्ता विचार राख्ने गरेको उल्लेख गरिएको छ ।  

जर्मनीमा राजनीतिज्ञहरूले विदेशीद्वारा हुने अपराधमा भएको वृद्धिलाई बढाइचढाइ नगर्न आग्रह गरिरहेका छन् ।ब्रान्डनबर्गका आन्तरिक मन्त्री माइकल स्टुबगेनले ‘आपराधिक गतिविधिमा लाग्ने विदेशी’ को सङ्ख्या चिन्ताजनक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस