पर्यटन क्षेत्रमा लगानी गर्न विदेशीलाई आकर्षित गर्नुपर्नेमा पर्यटन मन्त्रीको जोड

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १५ : ३७
पर्यटन क्षेत्रमा लगानी गर्न विदेशीलाई आकर्षित गर्नुपर्नेमा पर्यटन मन्त्रीको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विदेशी लगानीकर्ताहरूलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूले जोड दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मङ्गलवार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले वैशाख तेस्रो हप्तामा सुरु हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरूलाई आह्वान गर्न आग्रह गरे ।

उनले सबैले मिलेर नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महसुस गराउन सके लगानी सम्मेलन सफल हुने बताए । उनले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन र तात्कालिक समस्या रहेको भन्दै साझा मुद्दा बनाएर अघि बढ्ने हो भने समस्याको समाधान हुने बताए । उनले नेपालको सापेक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त रहेको तर नियमित उडान गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले उद्योगी व्यापारीहरूले होटेल क्षेत्रमा ठूलो लगानी गरेको तर पर्यटकहरूको कमीले आफूलाई सुरक्षित महसुस गर्न नसकेको बताए । उनले सरकारले पर्यटन क्षेत्रका समस्या समाधानका लागि आवश्यक कदम चालिरहेको पनि बताए ।

मन्त्री तामाङले पर्यटन क्षेत्रको युरोपियन देशहरूमा सिधा उडान हुन नसक्दा पनि पर्यटकको आवागमनमा केही कमी भइरहेको बताए । उनले कुनै आग्रह पूर्वाग्रह बिना साझा रणनीति र योजना बनाइ अघि बढ्ने हो भने समस्या समाधान हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस