कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : अर्थमन्त्री पुन

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १४ : ४६
कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटको खास प्राथमिकता पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि रहने बताएका छन् ।नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मङ्गलवार मन्त्रालयमा भेटवार्ता गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन् ।

मन्त्री पुनले आर्थिक रूपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको उनको भनाइ थियो ।गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरू भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे । आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको  देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उनले बताए । मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको उनको भनाइ थियो । 

आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरूसँग निरन्तर संवाद र परामर्श गरिरहेको मन्त्री पुनले बताए । नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वाधारमा उल्लेख्य विकास गरेको मन्त्री पुनको भनाइ छ । 

१५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी १ लाख किलोमिटर सडक निर्माण भएको तथ्याङ्क प्रस्तुत गरे । पहाडमा मध्य पहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन सङ्ख्यामा उत्तर–दक्षिण कोरिडोरमा सडक निर्माण भइरहेको उनले बताए । ती सडकहरूको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उनले व्यक्त गरे । 

महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए । यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए ।