अस्ट्रेलिया टुर सकेर फर्कियो नेपाल आइडलको टिम

बुधबार, १२ पुस २०७४, १० : ५०
अस्ट्रेलिया टुर सकेर फर्कियो नेपाल आइडलको टिम

सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया आएका नेपाल आइडलका कलाकारहरुले अन्तिम शो डिसेम्बर २३ तारिखका दिन एडीलेडमा सम्पन्न गरेर नेपाल फर्किएका छन् ।

नोबेम्बर २४ तारिकमा अस्ट्रेलियाको राजधानी क्यानबेराबाट सुरु भएको सांगीतिक कन्सर्ट ब्रिसबेन,सिड्नी ,मेलबर्न, होबर्ट, पर्थ, डार्विन हुँदै एडीलेडमा अन्तिम शो प्रस्तुति गरिएको थियो ।

नेपाल आइडल बुद्ध लामा, फर्स्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुशील नेपालले अस्ट्रेलिया सांगीतिक टुरमा दर्शक श्रोताहरुबाट आफूहरुले धेरै माया पाएको बताउँदै खुशी ब्यक्त गरे ।

अस्ट्रेलियाको आयोजक नेपाली टचले प्रचार प्रसार, भेनु, चयन सबै कुरामा बिशेष ब्यबस्थापन गरेकोमा आफू धेरै खुशी रहेको बताउँदै सुशील नेपालले अन्य देशमा हुने कार्यक्रमको लागि पनि अस्ट्रेलिया राम्रो रेफरेन्स हुने बताए ।

यस अगाडि आफ्ना समकालीन कलाकारहरुसँग काम गरिरहेका नेपाल सानै उमेरका युवा कलाकारहरुको अभिभावक बनेर फरक अनुभब समेत बटुल्न पाएको बताउँदै भने,’तीनै जना गायकको फ्यान क्रेज उतिकै छ साथै आइडलले युवा पुस्ता माझ संगीतको रुचीलाई अझै बढाएको हामीले महसुस गरेका छौ ।’

हरेक सहरमा भएका कार्यक्रमहरु ऐतिहासिक गराउन आफूहरु सफल भएको बताउँदै आयोजक नेपाली टचका दिपेश पुनले भने, ‘सिड्नीमा पहिलो पल्ट अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भेनु ओलम्पीक पार्कमा नेपाली कलाकारहरुको शो राख्न हामी सफल भयौ, जहाँ सन् २००० मा ओलीम्पक खेल समेत भएको थियो ।’

लाइट, साउण्ड लगायतका कुरामा समेत बिशेष ध्यान दिएर दर्शकहरुलाई बिशेष मनोरन्जन प्याकेज दिएको बताउदै उनले भने,’हामीले यस कार्यक्रमको प्रचारप्रसार सिड्नीको ६ वटा ट्रेनमा करिब ४ हप्ता भन्दा बढी गरेका थियौ ।’
कार्यक्रममा बालबालिकादेखि पाका उमेरसम्मका व्यक्तिहरु समेत तीनै कलाकारहरुसँग भेट्न र फोटो खिच्न तछाडमछाड गरिरहेका थिए ।

पहिलो पटक भव्य र फरक रुपले कार्यक्रम सफल भएकोमा आयोजक संस्थाका राजकुमार गोश्वामीले दर्शकहरुलाई धन्यबाद दिदै भने,’मीले त आयोजनाको पाटो समाल्ने हो, सबै श्रेय दर्शकलाई जान्छ उहाँहरुको माया बिश्वासले नै अस्ट्रेलियामा भब्य रुपमा कार्यक्रम सफल भएको छ ।’

नेपाल आइडलको आगामी कार्यक्रमहरु अमेरिका, युरोप लगायत अन्य देशहरुमा हुने कलाकारहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस