पूर्वी र पश्चिम चितवनबाट आउने सवारी नारायणगढ बजारसम्म जान पाउने

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १० : ५९
पूर्वी र पश्चिम चितवनबाट आउने सवारी नारायणगढ बजारसम्म जान पाउने

चितवन । पूर्वी र पश्चिम चितवनबाट आउने सवारी साधान आगामी वैशाख १ गतेदेखि नारायणगढ बजार क्षेत्रसम्म जान पाउने भएका छन् । नारायणगढको पूल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको करिब ६ किलोमिटर सडक ६ लेनमा विस्तार कार्य भइरहेकोले ती क्षेत्रबाट आउने सवारीलाई गत वर्ष पुस ७ देखि बजारसम्म जान रोक लगाइएको थियो ।

आगामी वैशाख १ गतेबाट यात्रुवाहक सवारीसाधन भरतपुर महानगरको रिङरोडमा ‘पिक एण्ड ड्रप’ गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलवार दिउँसो बसेको बैठकले गरेको हो ।

यात्रुवाहक गाडीलाई रिङरोडमा सञ्चालन गर्न दिने विषयमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको छलफलमा सो निर्णय भएको हो ।

यात्रुबोकेर आउने सवारीले चौबीसकोठी, पुलचोक, नारायणगढ बसपार्क हुँदै आँपटारी बाइपासबाट केन्द्रीय बसपार्कमा पार्किङ गरी फर्कने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

पूर्वी र पश्चिम चितवनबाट आउने गाडीलाई केन्द्रीय वसपार्कमा नै रोकेर अटो वा साना सवारी साधन चढेर जानुपर्ने बाध्यता थियो । पछि पूर्वी र पश्चिम चितवन नेता तथा स्थानीय तहका जनप्रतिनिधीहरुले सो कार्यको तीव्र विरोध गरेपछि प्रशासनले भरतपुरको चौविसकोठीसम्म यातायातका साधन आउन दिएको थियो । उनीहरुले एउटै जिल्लाभित्र यात्रा गर्न कुनै पालिकाले रोक लगाउने कुरा गलत भएको भन्दैं त्यसलाई तत्काल सच्चाउन माग गर्दै आएका थिए ।

नारायणढ बजार क्षेत्रका व्यवसायीहरुले समेत ती सवारीलाई बजारसम्म नै आउन दिनुपर्ने माग गरेका थिए । ती सवारीहरु नआउँदा व्यवसाय चौपट भएको भन्दै महानगरसहित प्रशासनलाई निर्णय पुर्नविचार गर्न उद्योग बाणिज्य संघ चितवनले पनि दबाब दिंदै आएको थियो ।

सडक विस्तार भएर सम्पन्न हुने क्रममा रहेकोले यात्रुबाहक सवारीलाई बजार क्षेत्रमा ड्रप एण्ड पिकअप गर्न आउन दिन महानगर सहमत भएको हो । यसरी आउने सबै सवारी साधनहरुमा भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्धन गर्न ‘घुमौँ भरतपुर’को स्टिकर टाँस्नुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस