सहकारी ठगीले गृहमन्त्री लामिछानेलाई लखेटिरहने छ: कांग्रेस

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, ११ : ५८
सहकारी ठगीले गृहमन्त्री लामिछानेलाई लखेटिरहने छ: कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्रीमाथि आज पनि संसदीय समिति छानबिनको माग उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले लामिछानेमाथिको अनुसन्धान रोकिएपछि संसदीय छानबिन समिति आवश्यक भएको बताए ।

उनले भने, ‘सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदीय समितिमै आएर अनुसन्धान गर्ने आश्वासन दिनु भएको थियो । प्रहरीले पनि अनुसन्धान भइरहेको बताएको थियो ।

गृहमन्त्री र प्रहरीले अनुसन्धान हुँदै छ भनेपछि छानबिन समिति आवश्यक थिएन । रवि लामिछाने गृहमन्त्री भएपछि छानबिन रोकिएको छ ।’

प्रधानमन्त्री र प्रहरीले गृहमन्त्री लामिछानेको बचाउमा उत्रिएको भन्दै अनुसन्धान प्रभावित भएको सांसद यादवले बताए । ‘प्रधानमन्त्री र प्रहरीले गल्ती नगरेको भन्नुहुन्छ । यसले अनुसन्धान प्रभावित भयो । अलपत्र पर्ने भयो ।

सरकारबाट अनुसन्धान रोकिएकाले विश्वासको सङ्कट उत्पन्न भएको छ । त्यसैले निष्पक्ष छानबिनका लागि संसदीय समिति आवश्यक भयो ,’ उनले भने ।

संसदीय छानबिन समिति बनाएर आरोपलाई टुङ्ग्याउँदा गृहमन्त्री लामिछानेलाई नै राम्रो हुने यादवको भनाइ छ । ‘यो आरोपको निष्पक्ष छानबिन गरी सत्य, तथ्य बाहिर नल्याएमा यो आरोपले तपाईँलाई केही छोड्न छैन । जिन्दगीभर लखेट्ने छ । समिति बनाएर अनुसन्धान हुने कुरा तपाईँकै हितमा हुन्छ ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस