माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, १६ : ४१
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत

काठमाडौँ । प्रदेश सरकार भागबन्डाका लागि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएसँगै बैठक अनिर्णीत बनेको हो ।

नेपालले सात प्रदेशमध्ये एकमा नेतृत्व दिनुपर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने र आफूलाई बाइपास गरेर यसअघि गरेका निर्णयप्रति पश्चाताप गर्नुपर्ने अडान राखेको स्रोतको भनाइ छ ।

‘पाँच दलको बैठकमा कुरा मिलेको छैन ।  सत्ता प्राप्तिको भर्‍याङ एकीकृत समाजवादी बन्दैन । पहिलो कुरा, सात प्रदेशमध्ये एक प्रदेश एकीकृत समाजवादीले पाउनुपर्छ । अर्को सबै राजनीतिक नियुक्तीमा सम्मानजनक सहभागिता हुनुपर्छ । यसअघि भएका निर्णयमा एमाले र माओवादीले पनि पश्चाताप गर्नुपर्छ । यथास्थितिमा विश्वासका मत दिन नसक्ने उहाँले अडान राख्नुभयो’, नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

बैठकमा बागमतीमा विश्वासको मत दिन प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले नेपालाई आग्रह गरेका थिए । तर, बैठकमा कडा रूपमा प्रस्तुत भएका नेपालले बागमतीसहित सबै ठाउँमा एकीकृत समाजवादीको पोजिसन क्लियर हुनुपर्ने अडान राखेको ती नेताको भनाइ छ । प्रधानमन्त्रीको सचिवालयले पनि प्रदेश भागबन्डामा कुनै सहमति नभएको बताएको छ ।

शीर्ष बैठक बिनानिष्कर्ष टुङ्गिएपछि सोमबार विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अप्ठ्यारोमा परेका छन् । सोमबारसम्म एकीकृत समाजवादीसँग सहमति नभएमा बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने देखिन्छ । 

यसैबीच  एकीकृत समाजवादीको प्रदेश संसदीय दलको बैठकले पनि यथास्थितिमा मुख्यमन्त्री जम्मकेट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । दलका नेता कृष्णप्रसाद शर्मा खनालले पाँच दलीय गठबन्धन राजनीतिक गठबन्धन नभएको भन्दै अहिलेकै अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए ।

तर, चैत १५ गते हाम्रो नेपाली पार्टीलाई सत्ता गठबन्धनमा सामेल गराउँदा एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका राजेन्द्रमान श्रेष्ठले हस्ताक्षर गरेका थिए । त्यतिबेला तीन दलबाट संसदीय दलका नेताको हस्ताक्षर रहँदा एकीकृत समाजवादीबाट भने मन्त्रीको मात्रै हस्ताक्षर हुनुले पनि समाजवादी गठबन्धनप्रति खुसी नरहेको देखाउने नेताहरू बताउँछन् ।