लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १४ : ५४
लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने

काठमाडौं। आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरू पनि ‘सोकेस’मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ ।

बिहीवार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकमा अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले यस्तो जानकारी दिएका छन् ।

प्रदेशका योजनामा पनि लगानी जुटाउनका लागि लगानी सोकेसमा राखिने उनको भनाइ छ । लगानी सम्मेलन निर्देशक समितिले हिजो प्रदेश मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेको थियो ।

त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरूको तयारीबारे छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

 

हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न निर्देशक समितिले प्रदेशहरूसँग आग्रह गरेको छ ।​​जलविद्युत्, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने धारणा प्रदेशबाट आएको छ ।

त्यस्तै, निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले औंल्याएका विद्यमान केही कानुनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरूबाट आएको थियो ।निर्देशक समिति बैठकमा अर्थमन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानुनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए ।