रामेछापको लिखु तामाकोशीका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद र २ करोड जरिवाना

सफल खबर संवाददाता

मंगलबार, १३ चैत्र २०८०, १६ : २८
रामेछापको लिखु तामाकोशीका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद र २ करोड जरिवाना

काठमाडौं। ​रामेछापको लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २७ जनाविरुद्ध २०७८ सालमा दर्ता गरेको भ्रष्टाचार मुद्दामा खड्का दोषी ठहर भएका हुन् ।

 

विशेष अदालतले खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार ५०९ रुपैयाँ जरिवाना गरेको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य न्यायाधीश तेजनारायणसिंह राईको इजलासले सोमवार उक्त फैसला गरेको हो ।

 

 

उक्त मुद्दामा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईलाई जनही ३ महिना कैद र ६३ लाख १० हजार ८३६ रुपैयाँ जरिवाना गरेको हो ।

त्यसै गरी तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामालाई जनही ३ महिना कैद र ३१ लाख ५५ हजार ४१८ रुपैयाँ जरिवाना तथा बिगो असुल उपर गर्ने फैसला भएको छ ।

पाइप कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङलाई ३ महिना कैद र ४२ लाख ३५ हजार ६८६ रुपैयाँ जरिवाना तथा बिगो रकम असुल उपर हुने फैसला गरेको हो । बाँकी प्रतिवादीहरूले भने सफाइ पाएका छन् ।अख्तियारले उनीहरूविरुद्ध विद्युतीय सामान खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस