आठौं विराट गोल्डकप बिहीवारदेखि, १० क्लब सहभागी

सफल खबर संवाददाता

मंगलबार, १३ चैत्र २०८०, १४ : १८
आठौं विराट गोल्डकप बिहीवारदेखि, १० क्लब सहभागी

काठमाडौं। मोरङको विराटनगरस्थित शहीद मैदानमा बिहीवारदेखि आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।यही चैत २४ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ ।

रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था  गरिएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । गत वर्ष विजेताले रु २० लाख १५ हजार र उपविजेताले रु १० लाख ५१ हजार पुरस्कार प्राप्त गरेका थिए ।

अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा १० क्लबको सहभागिता रहनेछ ।नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब, आयोजकको एउटा टोलीका साथै भारत र भुटानका ‘ए’ डिभिजन क्लबसँग सहभागिताका लागि समन्वय भइरहेको छ ।

विक्रम संवत् २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो ।गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस