चितवन । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउने भएपछि नगरवासी उत्साहित भएका छन् । भरतपुर महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलहरुबीच गेष्ट हाउस चौरमा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने सहमति भएपछि नगरवासी उत्साहित भएका हुन् ।
जिल्ला समन्वय समितिको मातहतमा रहेको गेष्ट हाउस चौरमा ४ बिघा ११ गठ्ठा ६ धुर जग्गा छ । सिटी हलको लागि सबै जग्गा प्रयोग हुँदैन । सिटी हल बनाएर पनि खाली जग्गा धेरै नै रहने भएको हुनाले नगरवासी उत्साहित भएका हुन् । सो जग्गाको लागि महानगरले सिटी हलको लागि प्रस्ताव गरेको र सबै राजनीतिक दलबीच सहमति भएपछि महानगरले निर्माणको प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।
नबनाए ५० करोड फ्रिज हुन्छ
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिटी हल निर्माणको लागि ५० करोड रुपैयाँ बजेट आइसकेको बताउनुभयो । ‘धेरै ठाउँमा सिटी हलको लागि जग्गा खोजेको थियौँ भनेजस्तो नपाएपछि गेष्ट हाउस चौरलाई नै रोजेका हौँ’ मेयर रेनु दाहालले भन्नुभयो, ‘हामीले सिटी हलको प्रक्रिया छिटो अगाडि बढाउनुपर्छ नत्र ५० करोड फ्रिज हुने डर छ ।’
महानगरको पश्चिम क्षेत्रमा प्रशस्त सार्वजनिक जग्गा भए पनि प्राविधिकरुपमा शहरीकरण भएको क्षेत्रमा सिटीहल बनाउनुपर्ने, सहरी विकास मन्त्रालयले पनि सहरमै सिटी हल निर्माणको अवधारणा ल्याएपछि सिटी हलको लागि गेष्ट हाउसको चउर नै उपयुक्त देखिएको महानगर प्रमुख रेनु दाहालको भनाइ थियो ।
यसअघि भरतपुर महानगरले क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउनलाई प्रक्रिया अघि बढाएको थियो । तर नेपाली कांग्रेसले क्यान्सर अस्पतालमा सिटी हल बनाउन नदिएपछि भरतपुर महानगरले विकल्पको धेरै ठाउँ खोजी गर्ने क्रममा गेष्ट हाउस चौरको जग्गा नै सबै हिसाबले सिटी हलको लागि उपयुक्त ठाउँ फेला पारेको थियो ।
‘हामीले क्यान्सर अस्पतालको जग्गामा सिटी हल निर्माण गर्न खोजेका थियौं, यसमा कांग्रेसले निर्माण हुन दिएन त्यसको विकल्पमा महानगरका विभिन्न क्षेत्रमा जग्गा खोज्ने र अनुगमन गर्ने काम गरियो’ महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, ‘सबै हिसाबले उपयुक्त गेष्ट हाउस चौर नै फेला प¥यो, राजनीतिक दलबीच पनि सहमति भयो ।’
महानगर प्रमुख दाहालले गेष्ट हाउस चौरमा सिटी हल बनाउँदा साँघुरो नहुने बताउनुभयो । ‘सबै जग्गामा सिटी हल बनाउने त होइन, खाली जमिन प्रशस्त रहन्छ । सहरको बीचमा खाली जमिन हुँदैन भन्ने चिन्ता नगर्दा हुन्छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘अत्याधुनिक गार्डेन बनाएर पनि अझ हामीसँग प्रशस्त जग्गा रहन्छ । ४ बिघा ११ कठ्ठा ६ धुर जग्गा सिटी हलले मात्र त खाँदैन ।’ उहाँले समग्र जिल्लाका लागि नै सिटीहल निकै महत्वपूर्ण विषय भएकाले बजेट फ्रिज हुन नदिन पनि गेष्ट हाउस चौरमा सिटी हल बनाउने प्रक्रिया अघि बढाइको बताउनुभयो ।
‘जहाँसम्म खेलमैदान हुँदैन कि भन्ने चिन्ता हो भने, प्रत्येक वडावडामा खेल मैदान पुग्ने गरी खाली जमिनहरुको खोजी गरिरहेका छौँ, धेरै वडामा फेला पनि परेको छ’ मेयर दाहालले भन्नुभयो, ‘खेलकुदका कार्यक्रमहरु नारायणगढको क्याम्पाचौरमा पनि भइरहेको छ, त्यहाँ पनि हामी खेलकुदका कार्यक्रमलाई अगाडि बढाउन सक्छौँ । खेलकुदलाई अन्य ठाउँहरु पनि प्रशस्त छन् ।

विकल्प गेष्ट हाउस चउर
नेकपाका नेता तेजेन्द्र खड्काले गेष्ट हाउस चउरमा सिटीहल निर्माणका लागि एक किसिमको सहमति भएको भन्दै प्राविधिकरुपमा उपयुक्त देखिएपछि निर्माण थालनी गरिने बताउनुभयो । उहाँले महानगरका विभिन्न क्षेत्रमा विकल्प खोज्दा पनि सम्भव नदेखिएपछि गेष्ट हाउस चउर रोजेको बताउनुभयो ।
चितवनको गौरव सिटी हल
नेकपाका नेता बद्री तिमिल्सिनाले १ बिघा ६ कठ्ठामा मात्र सिटी हल बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँकी जग्गा त खाली हुन्छ, पार्किङ सिंचाइको जग्गामा बनाउने हो ।’ उहाँका अनुसार सिटी हल बनाउन गेष्ट हाउस चउरमा कुनै साँघुरो हुँदैन । उहाँले भन्नुभयो, ‘सिटी हल भनेको नै बजारमा नै बनाउने हो । नामै त सिटी हल छ ।’ नेपालकै सबैभन्दा ठूलो सिटी हल चितवनमा बन्न लागेको छ यसमा सबै खुसी हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘सिटी हल चितवनवासीको गौरवको विषय हो, यो छिटो बनाइनुपर्छ ।’
पार्किङलाई धेरै ठाउँ छन्
भरतपुर वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सिटी हल गेष्ट हाउस चउरमा बनाउन उपयुक्त भएर नै त्यो ठाउँ रोजेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्यान्सर अस्पतालको जग्गामा बनाउन नपाउने भएपछि कुनै न कुनै विकल्प त चाहियो ? त्यो विकल्प गेष्ट हाउस चउर बनेको छ ।’
खेलमैदानको लागि चितवनमा प्रशस्त जग्गा भएको उहाँको भनाइ थियो । चितवन माविको जग्गा, क्याम्पाचौर, वीरेन्द्र क्याम्पसको जग्गामा खेलकुदका कार्यक्रमहरु गर्न सकिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पार्किङको लागि जग्गा पुग्दैन कि भन्ने चिन्ता छैन, पार्किङको लागि सिंचाइको जग्गा, मालपोतको जग्गा, जिससको पछाडिको जग्गा प्रयोग गर्न सकिन्छ ।’
जग्गा काफी पुग्छ
गेष्ट हाउस चउरको जग्गा जिल्ला समन्वय समितिको मातहतमा छ, हामी सिटी हल बनाउन उपलव्ध गराउने भनेपछि प्रक्रिया अघि बढेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताउनुभयो । उहाँका अनुसार सिटी हलको लागि जग्गा अपुग हुँदैन । उहाँले भन्नुभयो, ‘४ विघा ११ कठ्ठा ६ धुर जग्गा कसरी अपुग हुन्छ ? अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउन पुग्छ ।’

हाम्रो सहमति छ
नेपाली कांग्रेसका सभापति जितनारायण श्रेष्ठले कांग्रेसको एकमात्र माग क्यान्सर अस्पतालमा सिटीहल निर्माण गर्न हुँदैन भन्ने रहे पनि अन्य क्षेत्रमा भने खासै विमती नरहेको बताउनुभयो । उनले सिटीहल निर्माणका लागि गेष्टहाउस चउरमा उपयुक्त भएको बताएका छन् । उहाँले भन्नुभयो, ‘गेष्ट हाउस चौरमा सिटी हल निर्माणको लागि दलहरुबीच सहमति भएको छ । हामीले क्यान्सरमा मात्र हुँदैन भनेका हौँ, गेष्ट हाउस चौरमा सिटी हल निर्माणको लागि हाम्रो स्वीकृति नै छ ।’
पाँचहजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सिटी हल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिनुभयो । महानगरले बनाउन लागेको सिटी हल देशकै नमुना बन्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस