ग्लोबल आईएमई बैंकका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १६ : ०९
ग्लोबल आईएमई बैंकका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं। ग्लोबल आईएमई बैंकका १११ वटा शाखाहरूले एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् ।​बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गको पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकले 'ग्लोबल मनी वीक २०२४'को अवसर पारेर देश व्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

 

ग्लोबल आईएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रबर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजना मार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस