काठमाडौँ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसदहरुले फरकफरक माग गरेका थिए । सप्तरीका विभिन्न स्थानमा स्वाईन फ्लुको महामारी फैलिएपछि यसको नियन्त्रण गर्न चिकित्सकहरुको विशेष टोली परिचालन गर्न माग गरिएको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद तेजुलाल चौंधरी र नमिताकुमारी चौंधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गरेका हुन् । सांसद तेजुलाल चौंधरीले स्वाईन फ्लूको महामारीबाट ४ जनाको ज्यान गईसक्दा पनि सरकारले सो रोगको प्रकोप नियन्त्रणमा चासो नदिएको बताइन् ।
अर्की सांसद नमिताकुमारी चौंधरीले सो रोग नियन्त्रणका लागि आवश्यक चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । सांसद दुर्गाकुमारी विश्वकर्माले पोखराकी १३ वर्षीया किशोरी पुष्पा केसीको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न पनि सरकारसँग माग गरे । उनले बेगनास तालमा डुंगा दुर्घटनामा परी ज्यान गएका ८ जनाका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरे ।यसैगरी सांसदहरुले बाढी, पहिरोले बगाएको सडक तत्काल निर्माण गर्न माग गरेका छन् । सांसद देवप्रसाद गुरुङले लम्जुङको उत्तरीभेगमा आएको पहिरोले बगाएको सडक बाटो तत्काल निर्माण गर्न सरकारसँग माग गरे ।
सांसद पार्वत गुरुङले बहुवर्षीय योजनाको रुपमा रहेकोे सडक निर्माण कार्यलाई निरन्तरता दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । सांसद नवराज सिलवालले नेपालको विभिन्न बैंकमा रहेको करिव ८ करोड हजार र पाँच सय दरका भारतीय नोट भारतसँग सटहीका लागि पहल गर्न अर्थ मन्त्रालयसँग माग गरे ।
भुटानमा रहेको हजार र पाँच सय दरका भारतीय नोट सटही गर्ने भारत सरकारले नेपालको भने नसाटेकोमा उनको आपत्ति थियो । नुवाकोटका सांसद नारायणप्रसाद खतिवडाले दुप्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले बस्ती जोखिममा परेकाले ती बस्तीहरुको उचित ठाउँमा स्थानान्तरण गर्न सरकारसँग माग गरे । अर्का सांसद पुष्पा भुसालले अर्घाखाँचीमा बाघका कारण १२ जना भन्दा बढिको ज्यान गएको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रणमा लिन सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस