जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १४ : ५७
जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत

बारा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो । 

मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ शानदार सतक प्रहार गरेका कंसकारले बलिङमा पाँच विकेट लिन सफल भए । उनको उत्कृष्ट प्रदर्शनले प्रतियोगितामा मकवानपुरले बिजयी सुरुवात गर्‍याे । 

टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रन जोडेको थियो । ओपनरका रुपमा मैदानमा आएका कंसकारले ५५ बलमा आठ छक्का र नौ चौका प्रहार गर्दै १११ रन जोडेका थिए । कप्तान सुमन सुनारले अविजित २४, गौरव खड्का र आस्तिक दाहालले समान १८ रन बनाए । 

जनकपुरका अधिकांश बलर महंगो सावित भए । उसका लागि बि. धवन सहनी, साइमोन रोय, अभिजित मण्डलले समान एक–एक विकेट लिए । मकवानपुरले दिएको १८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुरले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटर चल्न नसक्दा पराजित हुन पुग्यो ।

जनकपुरका ओपनर अलि अकबर अंसारी र हिमांशु दत्तले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात गरेका थिए । उनिहरुले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । तर मकवानपुरका अशिम श्रेष्ठले ओपनर अंसारीको विकेट लिदै टिमलाई पहिलो सफलता दिलाएका थिए ।

अंसारीपछि क्रिजमा आएका बिशाल सुस्लिङ समेत उस्तै लयमा देखिदा जनकपुरको जीत सहज बनिरहेको थियो । तर खेलको १२औं ओभरमा बलिङ गर्न आएका कंसकारले सुस्लिङ र पर्शुराम यादवलाई एउटै ओभरमा पेभेलियन फर्काए । १७ बलमा १९ रन बनाउँदै खेलिरहेका सिस्लुङको विकेट लिएका कंसकारले त्यसपछि क्रिजमा आएका यादवलाई शुन्यमै आउट गरेका थिए । 

कंसकारले एक ओभरमै दुई विकेट लिएपछि जनकपुरको पालि धर्मराउन पुग्यो । १२१ को स्थितिमा दोस्रो विकेट गुमाएको जनकपुरले १३८ रन जोड्दा आठ विकेटको क्षति व्यहोरेको थियो । चन्दन यादवले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । 

मकवानपुरका कंसकारले तीन ओभर बलिङ गर्दै सात रन खर्चिएर पाँच विकेट लिए । पियुश शर्माले दुई, समिर चौलागाईं, अशिम श्रेष्ठ र सुवर्ण भट्टले समान एक–एक विकेट लिए । कंसकार खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेलले पुरस्कृत गरेका थिए । 

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बुधवार जनकपुर र खुकुरी क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा मकवानपुर, जनकपुर र भैरहवा छन् । यो समूहको विजेताले लागि पर्सा क्रिकेट संघसंग चैत्र १० गते उपाधिका लागि खेल्नेछ । समूह ‘ए’ को विजेता बन्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ ।  

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस