पाकिस्तानमा इमरान खानसहित पीटीआई नेताका नाममा पक्राउ पुर्जी जारी

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, ११ : ०२
पाकिस्तानमा इमरान खानसहित पीटीआई नेताका नाममा पक्राउ पुर्जी जारी

इस्लामवाद । पाकिस्तानको आतङ्कवाद विरोधी एक अदालतले मङ्गलबार जेलमा रहेका पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानर सो पार्टीका अन्य नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको छ । यो मुद्दा गत वर्ष मे ९ को हिंसासँग सम्बन्धित छ । सो घटनामा खैबर–पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गण्डापुर पनि संलग्न छन् ।

रावलपिण्डीस्थित आतङ्कवाद विरोधी अदालतका न्यायाधीश मलिक इजाज आसिफले गण्डापुरविरुद्ध दायर मुद्दाको आधारमा कारबाही गरेका हुन् । अधिकारीहरूलाई अप्रिल २ मा खैबर पख्तुनख्वाका मुख्यमन्त्री र अन्यलाई अदालतमा उपस्थित गर्न आदेश दिइएको थियो ।

यी हुन् पक्राउ पुर्जी जारी गरिएका नेता

पक्राउ पुर्जी जारी भएका पीटीआईका अन्य नेताहरूमा मुराद सईद, शिबली फराज, शाहबाज गिल र सेवा निवृत्त लेफ्टिनेन्ट कर्नल शब्बीर अवान, शिरीन मजारी, मुसरत जमशेद चीमा र साद जमील अब्बासी छन् । प्रहरीले सयौँ पीटीआई कार्यकर्ता र सो पार्टीका सबै वरिष्ठ नेताहरूलाई समातेर हिंसा र सैन्य प्रतिष्ठानहरूमा आक्रमणमा संलग्न भएको आरोपमा जेलमा हालेको थियो ।

भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इस्लामवाद उच्च अदालतको परिसरबाट अर्धसैनिक रेंजर्सले पूर्व प्रधानमन्त्री इमरान खानलाई मे ९ मा पक्राउ गरेपछि हिंसात्मक प्रदर्शन सुरु भएको थियो ।

उनका पार्टीका कार्यकर्ताहरूले जिन्ना हाउस, मियाँवाली एयरबेस र फैसलावादको आईएसआई भवनसहित दर्जनौँ सैन्य प्रतिष्ठानहरूमा तोडफोड गरेका थिए। रावलपिन्डीस्थित आर्मी हेडक्वार्टर (जीएचक्यू)मा पनि भीडले हमला गरेको थियो ।

प्रशासनले मे ९ लाई कालो दिन घोषणा गर्दै आन्दोलनकारीलाई सेनाको अधिनियम अन्तर्गत मुद्दा चलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस