सहकारीमा रवि लामिछानेविरुद्ध अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीको ब्रिफिङ छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १३ : ४०
सहकारीमा रवि लामिछानेविरुद्ध अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीको ब्रिफिङ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।प्रतिनिधि सभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे।

 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्रीले भने, 'हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।'

 

प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराए ।

सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेको उनले बताए । यस कार्यलाई अझै प्रभावकारी बनाइने उनको भनाइ थियो ।

'सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ', प्रधानमन्त्री प्रचण्डले भने, 'यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।'

प्रतिक्रिया दिनुहोस